माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीद्वारा पार्टी परित्याग ।
कोशी आवाज २०८२ पुष २४ गते बिहिवार ।
विराटनगर । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मधेश प्रदेश सांसद रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्। उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै औपचारिक राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा अन्सारीले पार्टीले साहस, इमान र जोखिम—तीनै मूल्य त्यागिसकेको आरोप लगाएका छन्। आफू यस्तो विरोधाभासपूर्ण राजनीतिमा सहभागी हुन नसक्ने उल्लेख गर्दै उनले पार्टी सदस्यताबाट विदा लिएको स्पष्ट पारेका छन्। राजीनामा पत्रमा उनले लेखेका छन्, “साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै विदा लिन्छु।”
अन्सारीले अध्यक्ष प्रचण्डले केही दिनअघि आयोजित नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफसमेत स्मरण गराउँदै त्यसको भावना अब व्यवहारमा नभई केवल स्मृतिमा मात्र सीमित भएको टिप्पणी गरेका छन्।
मिति २०८२ भदौ २४ गते बुझाइएको राजीनामा पत्रमा उनले जनयुद्धका क्रममा बलिदान दिएका नेपाली जनता, परिवर्तनको सपना बोकेको पुस्ता, रगत बगाएर देखिएका सपना तथा शहीदहरूको आदर्शप्रति गहिरो सम्मान व्यक्त गरेका छन्। तर ती आदर्शहरू व्यवहारमा कहिल्यै कार्यान्वयन हुन नसकेको भन्दै वर्तमान नेतृत्व र राजनीतिक दिशाप्रति गम्भीर असन्तोष प्रकट गरेका छन्।
उनले सत्ता, पद र सुविधामुखी राजनीतिले जनयुद्धका मूल मूल्य र उद्देश्यलाई विस्थापित गरेको आरोप लगाउँदै शहीदहरूको नाम भाषणमा मात्र सीमित हुने अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।
माओवादी केन्द्रबाट निर्वाचित एक प्रदेश सांसदको यस्तो तीखो आरोपसहितको राजीनामालाई पार्टीभित्र बढ्दो असन्तोषको संकेतका रूपमा हेरिएको छ। अन्सारीको निर्णयले माओवादी केन्द्रको आन्तरिक राजनीति र संगठनात्मक अवस्थाबारे नयाँ बहस सुरु गराएको छ ।