नागरिक सरकारमा दलीय छाया गहिरिँदै मन्त्री घिसिङ, गुप्ता र खरेल रास्वपामा जोडिएपछि प्रश्न ।
कोशी आवाज २०८२ पुस १६ गते बुधबार।
मोरङ । जेन–जी आन्दोलनको जगमा गठन भएको अन्तरिम ‘नागरिक सरकार’माथि दलीय प्रभाव बढ्दै गएको आरोप चर्किएको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिक बन्दसूची पेस गरेसँगै सरकारमा सहभागी केही मन्त्रीहरू खुलेरै राजनीतिक दलको गतिविधिमा संलग्न भएपछि नागरिक सरकारको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको हो।
ऊर्जा, सहरी तथा भौतिक पूर्वाधार मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष बनेका छन्। यस्तै, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सूचना तथा सञ्चार तथा सरकारका प्रवक्ता जगदीश खरेलसमेत रास्वपाको गतिविधिमा सक्रिय रूपमा संलग्न हुँदै आएको पाइएको छ।
रास्वपा र उज्यालो पार्टी नेपालबीच सोमबार भएको सातबुँदे सहमतिमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह साक्षीका रूपमा उपस्थित थिए। सहमतिअनुसार ऊर्जामन्त्री घिसिङ रास्वपाको उपसभापति बन्ने उल्लेख गरिएको छ। यससँगै ‘नागरिक अगुवा’का रूपमा सरकारमा सहभागी मन्त्रीहरूको दलीय आबद्धता सार्वजनिक भएपछि अन्तरिम सरकारको उद्देश्य र भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
सोमबार राति उज्यालो पार्टी नेपालका संरक्षकसमेत रहेका मन्त्री घिसिङको उपस्थितिमा पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले रास्वपासँग एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गुप्ता पनि सहभागी थिए। रास्वपा नेताहरूका अनुसार गुप्ता र खरेल दुवै पार्टी अभियानमा प्रत्यक्ष रूपमा जोडिएका छन्।
यसबीच, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमार्फत रास्वपा र सो पार्टीको एकीकरण प्रक्रियाप्रति समर्थन जनाउँदै आएका छन्, जसले सरकारको तटस्थतामाथि थप आशंका बढाएको छ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारलाई निर्वाचन गराउने मात्र म्यान्डेट रहेको उल्लेख गर्दै दलीय गतिविधिमा संलग्न मन्त्रीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए। “मन्त्रीहरू पार्टीमा लागेपछि निष्पक्ष र स्वच्छ निर्वाचन हुनेमा प्रश्न उठ्छ,” उनले भने।
नेकपा एमाले महासचिव शंकर पोखरेलले पनि गैरदलीय सरकारका मन्त्रीलाई राजीनामा नदिई दलको उपसभापति बनाउनु अनुचित भएको टिप्पणी गरे। नेकपा नेता गिरिराजमणि पोखरेलले नयाँ राजनीतिक शक्तिबीच एकता वा ध्रुवीकरण सकारात्मक भए पनि नैतिकताको प्रश्न सम्बन्धित व्यक्ति स्वयंले बुझ्नुपर्ने बताए।
आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले यसअघि नै मन्त्री घिसिङको दलीय संलग्नताप्रति प्रश्न उठाउँदै आएका छन्। उनले नागरिक सरकार दलीय सरकारमा परिणत भएको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका छन्।
यता, रास्वपा नेता गणेश पराजुलीले मन्त्री घिसिङले नैतिकताका आधारमा राजीनामा दिने विश्वास व्यक्त गर्दै पार्टीभित्र यसबारे छलफल हुने बताए।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। त्यसयता घिसिङ, गुप्ता र खरेलसहितका मन्त्रीहरू दलीय अभ्यासमा सक्रिय रहेको भन्दै नागरिक तहबाट व्यापक आलोचना भइरहेको छ। यसले सरकारको निष्पक्षता र आगामी निर्वाचनको विश्वसनीयतामाथि थप बहस जन्माएको छ।