सिकटीमा झाडीबाट ७५ लिटर नेपाली मदिरा बरामद, तस्करको खोजी जारी ।
सिकटीमा झाडीबाट ७५ लिटर नेपाली मदिरा बरामद, तस्करको खोजी जारी ।

कोशी आवाज २०८३ असोज १६ शुक्रबार ।

बिराटनगर । भारत–नेपाल सीमामा मदिरा तस्करीविरुद्ध चलाइएको अभियानअन्तर्गत एसएसबी र आबकारी विभागको संयुक्त टोलीले ७५ लिटर नेपाली मदिरा बरामद गरेको छ।

५२औँ वाहिनी एसएसबी अररियाका कार्यवाहक कमान्डेन्ट आलोक कुमारको निर्देशनमा सिकटीस्थित बाह्य सीमा चौकीका जवान र आबकारी विभागको टोलीले सूचना आधारमा खोजी अभियान सञ्चालन गरेको थियो।

तलासीका क्रममा टोलीले पैतालाका साथै मोटरसाइकल र साइकलका टायरका निशान पछ्याउँदै सीमा स्तम्भ नम्बर १६० बाट करिब ६३० मिटर पश्चिम तथा भारतीय भूभागतर्फ करिब ३५० मिटरभित्र पुगेको थियो। त्यहाँ बाँसको झाडीमा लुकाइराखिएका तीनवटा जुटका बोरा फेला परेका थिए।

बोरा खोलेर हेर्दा ७५ लिटर नेपाली मदिरा बरामद भएको हो। आसपास सोधपुछ गर्दा उक्त मदिरामाथि कसैले दाबी नगरेपछि बरामद मदिरा आबकारी विभागलाई बुझाइएको जनाइएको छ।

मदिरा कसले र कुन उद्देश्यले लुकाएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ भने सम्भावित तस्करको पहिचान तथा खोजी जारी रहेको सुरक्षा निकायले जनाएको छ।